नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले असोज २ गतेदेखि निष्काशनमा ल्याएको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन हो। बैंकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता (१:१ अनुपातमा) हकप्रद सेयर निष्काशन गरेको हो। यसअन्तर्गत प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता, अर्थात् २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरका सेयर बिक्रीमा ल्याइएको छ।
हकप्रद निष्काशन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले यस निष्काशनका लागि बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ ‘सी प्लस’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले लिएको छ। लगानीकर्ताले ग्लोबल आइएमई बैंकका शाखाहरू, नारायणी डेभलपमेन्ट बैंकका कार्यालयहरू, आस्बा सेवामा सहभागी बैंक तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।



















प्रतिकृया