रिलायन्स स्पिनिङ मिल्स आईपीओ भर्ने आज अन्तिम दिन
रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मंसिर २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर २२ गतेदेखि श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ बिक्री खुला गरेको हो।
यो आईपीओ बुक–बिल्डिङ विधिबाट जारी गरिएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। बाँडफाँड हुँदा पनि न्यूनतम ५० कित्तामै सेयर प्राप्त हुने व्यवस्था छ। यस आईपीओको प्रतिकित्ता मूल्य रु. ८२०.८० तोकिएको छ।
यसअघि कम्पनीले आईपीओ निष्काशनको अनुमति पाए पनि प्रक्रिया अदालतमा पुगेपछि रोकिएको थियो। पछि अदालतले कम्पनीको पक्षमा अन्तरिम आदेश दिएपछि नेपाल धितोपत्र बोर्डले आईपीओ प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो। त्यसका लागि कम्पनीले अध्यावधिक वित्तीय विवरणसहित आह्वानपत्र सार्वजनिक गरिसकेको छ।
कम्पनीले पहिल्यै योग्य संस्थागत लगानीकर्तालाई पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँड सकिसकेको छ। अब वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि दोस्रो चरणको आईपीओ निष्काशन सम्पन्न भएपछि कम्पनीले तेस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ।





