चार कम्पनीको साधारण सभा चैत ११ गते आज बस्दैछ। गार्डियन माइक्रो लाइफ, युनाइटेड इदी मर्दी, एक्सेल डेभलपमेन्ट बैंक र राधी विद्युत कम्पनीको साधारण सभा आज चैत ११ गते सोमबार बस्दैछ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजे बस्दैछ। सभामा अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने तथा पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि छलफल हुनेछ।
त्यसैगरी, वार्षिक प्रतिवेदन, वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, दुई जना सञ्चालक निर्वाचन, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण, र खर्च अनुमोदनजस्ता प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्। सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले ४ .२१ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव सहित आज साधारण सभा बस्दैछ । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
साथै, कम्पनीले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ। कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गरिसकेको छ। जस अनुसार फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा आज सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे बस्दैछ। साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । बैंकले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार बुधबार फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
राधी विद्युत कम्पनी लिमिटेडको विशेष साधारणसभा आज ललितपुरको चापागाँउस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजे बस्दैछ। यसअघि, कम्पनीले चैत ३ गते बोलाएको विशेष साधारणसभा कोरम नपुगेर स्थगित भएको थियो
सभामा हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजीमा हुने वृद्धि अनुसार जारी पूँजी संशोधन र कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा सुधार गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, सञ्चालक समितिलाई अख्तियारी दिने, २ जना सञ्चालकको नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार फागुन २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
















प्रतिकृया