सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले ६ बुँदे सहमति गरेको छ। गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि सहमति भएको हो।
साउन १४ गते भएको सहमतिपत्रमा गृहमन्त्रालयका तर्फबाट गृहमन्त्री तथा मृतकका अभिभावकबीच हस्ताक्षर भएको छ। सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ। साथै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे तत्काल छानबिन गर्ने र प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने विषय पनि सहमतिमा समेटिएको छ।
सहमतिपत्रमा घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने उल्लेख गरिएको छ।
सरकार र पीडित परिवारबीच सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे अन्त्येष्टि गरिने भएको छ।

प्रतिकृया