४४ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, ऋण लिएर सेयर किन्ने लगानीकर्ता बढ्दै



Advertisement
Ads

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू सेयर धितो कर्जामा आक्रामक बन्दै गएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमास (साउनदेखि चैत मसान्तसम्म) मा सेयर धितो कर्जाको लगानी उल्लेखनीय रूपमा बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, १ खर्ब २४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी कर्जा सेयर धितो कर्जाको रुपमा प्रवाह भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले ६७ अर्ब ५२ करोड रुपैयाँको सेयर धितो कर्जा दिएका थिए । जसअनुसार १ वर्षको अवधिमा सेयर कर्जा ३७ अर्ब ९३ करोड रुपैयाँले बढेको हो ।

वाणिज्य बैंकहरूले यस कर्जाको प्रमुख हिस्सा ओगटेका छन्। उनीहरूले यो अवधिमा १ खर्ब १ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५०.४७ प्रतिशतले वृद्धि भएको हो। वाणिज्य बैंकहरू मध्ये १७ वटा बैंकले सेयर कर्जा प्रवाह बढाएका छन् भने २ वटाले घटाएका छन्। तीमध्ये ८ वटा बैंकले ५ अर्ब रुपैयाँभन्दा बढी सेयर कर्जा प्रवाह गरेका छन्।


Advertisement

कर्जा लगानीका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म नबिलले १४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कर्जा सेयर धितो कर्जाको रूपमा प्रवाह गरेको छ। सेयर कर्जा वृद्धिको आधारमा नेपाल एसबिआई बैंक सबैभन्दा अगाडि रहेको छ। उक्त बैंकको सेयर कर्जा लगानी ३८८.३२ प्रतिशत बढेर ६१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। त्यस्तै, माछापुच्छ्रे बैंकको सेयर कर्जा लगानी २६४ प्रतिशत बढेर १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कृषि विकास बैंकको लगानी १३६ प्रतिशतले बढेर ३ अर्ब नाघेको छ भने कुमारी बैंक र एनएमबि बैंकको कर्जा क्रमशः १२७ र १३२ प्रतिशतले वृद्धि भएको छ।

विकास बैंकहरूले पनि सेयर धितो कर्जामा आफ्नो सक्रियता देखाएका छन्। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा विकास बैंकहरूले १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३० प्रतिशतले वृद्धि भएको हो। मुक्तिनाथ विकास बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गर्दै सबैभन्दा बढी लगानी गर्ने विकास बैंकको रूपमा रहेको छ।  सप्तकोशी विकास बैंकले सबैभन्दा तीव्र वृद्धि देखाउँदै आफ्नो सेयर कर्जा लगानीलाई ६२६ प्रतिशतले बढाएर १२ करोड रुपैयाँ पुर्‍याएको छ।

फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह पनि विस्तारोन्मुख देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरूले ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.१२ प्रतिशतले वृद्धि हो। मञ्जुश्री फाइनान्सले ७५ करोड ५० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गर्दै सबैभन्दा बढी लगानी गर्ने फाइनान्स कम्पनी रूपमा रहेको छ।त्यस्तै, आइसिएफसि फाइनान्सले ५१ करोड ४४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्।सेयर कर्जा वृद्धिको आधारमा  सेन्ट्रल फाइनान्सले ११९३ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै ११ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर