मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख भन्दा बढी मानिसहरु प्रभावित

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख भन्दा बढी मानिसहरु प्रभावित

मलेसियामा भारी वर्षाका कारण आएको बाढीले १ लाख २२ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २ लाखभन्दा बढी परिवार बाढीको चपेटामा परेका छन्।

बाढीका कारण हालसम्म तीनजनाको मृत्यु भएको प्रकोप अधिकारीहरूले जनाएका छन्। भारी वर्षा र आँधीहुरी जारी रहेकाले मृत्यु र विस्थापनको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। उद्धारका लागि हजारौं आपतकालीन सेवाकर्मी खटिएका छन्। विस्थापितलाई नयाँ आश्रयस्थलमा राख्ने प्रयास भइरहेका छन्।

स्थानीय समाचारले सार्वजनिक गरेका भिडिओहरूमा घर र कार डुबेका तथा पीडितहरू कम्मरसम्म पानीमा हिँडिरहेका दृश्य देखिन्छन्।

बाढी मुख्यतया थाइल्याण्डको सिमानामा पर्ने उत्तरपूर्वी राज्य केलान्तानमा केन्द्रित छ। यहाँ मात्रै कुल विस्थापितको ६३ प्रतिशत छ। राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले ६७९ आपतकालीन आश्रयहरू स्थापना गरेको छ। विस्थापितको सङ्ख्या सन् २०१४ को भीषण बाढीलाई पनि पार गरेको छ।

मलेसियाका अन्य प्रभावित क्षेत्रहरूमा तेरेङ्गगानु, केदाह, नेगेरी सेम्बिलन, पेर्लिस, सेलांगर, जोहोर, मेलाका, र पेराक रहेका छन्। प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापनका लागि आवश्यक प्रावधानहरू पठाइसकेको छ। साथै, प्रधानमन्त्रीले राज्य सरकारहरूलाई विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।

छिमेकी थाइल्याण्डका ६ प्रान्तले प्रकोप घोषणा गरेका छन्। त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार बाढीले २ लाख ४० हजारभन्दा बढी घरलाई प्रभावित गरेको छ। उद्धारका लागि सेना परिचालन गरिएको छ।

प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भए पनि लगातारको वर्षाले चुनौती थपिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स