स्टार्टअप र साना उद्यमका लागि छुट्टै SME बोर्ड, कर छुटदेखि क्राउडफन्डिङसम्म सेबोनका नयाँ योजना

स्टार्टअप र साना उद्यमका लागि छुट्टै SME बोर्ड, कर छुटदेखि क्राउडफन्डिङसम्म सेबोनका नयाँ योजना

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्टार्टअप तथा साना एवं मझौला उद्यम (SMEs) लाई पूँजी बजारमार्फत सहज रूपमा लगानी जुटाउन दिने उद्देश्यले छुट्टै SME बोर्ड सञ्चालनमा ल्याउने भएको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिले बैंक ऋणमा निर्भर रहेको उद्यमशीलतालाई जोखिम पूँजी (Risk Capital) उपलब्ध गराउने नयाँ वित्तीय प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको हो।

सेबोनका अनुसार SME बोर्ड मा साना कम्पनीहरूले मुख्य बोर्डको तुलनामा सरल मापदण्ड पूरा गरेर सेयर सूचीकरण गर्न सक्नेछन्। सूचीकरण, सूचना खुलासा र नियामकीय अनुपालनका प्रावधानलाई पनि साना उद्यमको आवश्यकता अनुसार सहज बनाइनेछ। निश्चित मापदण्ड पूरा गरेपछि सफल कम्पनीलाई मुख्य कारोबार बोर्डमा स्थानान्तरण (Graduated Listing) हुने व्यवस्था पनि गरिनेछ।

नीतिले परम्परागत सेयर निष्काशनभन्दा बाहिर गएर निजी इक्विटी (Private Equity) र भेञ्चर क्यापिटल (Venture Capital) मार्फत सूचना प्रविधि, कृषि, पर्यटन लगायतका क्षेत्रमा आधारित स्टार्टअपलाई प्रारम्भिक चरणमै पूँजी उपलब्ध गराउने योजना अघि सारेको छ। साथै, नेपालमा पहिलो पटक इक्विटी क्राउडफन्डिङ (Equity Crowdfunding) का लागि कानुनी र नियामकीय आधार तयार गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। यसले उद्यमीलाई सर्वसाधारणबाट प्रत्यक्ष रूपमा इक्विटी लगानी जुटाउने अवसर दिने अपेक्षा गरिएको छ।

स्टार्टअप र SME लाई पूँजी बजारका लागि तयार बनाउन सेबोनले व्यावसायिक परामर्श सेवा, संस्थागत सुशासन, वित्तीय प्रतिवेदन तथा पारदर्शिता सुधार सम्बन्धी कार्यक्रमलाई पनि प्रोत्साहन गर्ने भएको छ। विश्वविद्यालय, अनुसन्धान संस्था र इनक्युबेसन सेन्टरसँग सहकार्य गरी विद्यार्थी र नवप्रवर्तनमा आधारित स्टार्टअपलाई पूँजी बजारसँग जोड्ने नीति पनि समावेश गरिएको छ। युवा तथा महिला नेतृत्वका उद्यमलाई पूँजी बजारमा पहुँच विस्तार गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

नीति कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजनामा SME बोर्डमा सूचीकृत हुने कम्पनीलाई कर छुटको सिफारिस, शेयर तथा ऋणपत्र निष्कासन लागत घटाउने व्यवस्था, तथा SME कम्पनीका लागि अनुसन्धान तथा विश्लेषण (Research Coverage) विस्तार गर्ने योजना पनि समावेश गरिएको छ। यसबाट लगानीकर्ताले साना कम्पनीबारे विश्वसनीय जानकारी पाउने र SME बजारमा लगानी बढ्ने विश्वास बोर्डको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स