नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै बजारको तरलता र दक्षता बढाउन T+1 राफसाफ प्रणाली लागू गर्ने तथा इन्ट्रा-डे कारोबार सुरु गर्ने घोषणा गरेको छ।
बोर्डले हालको सेटलमेन्ट चक्रलाई चरणबद्ध रूपमा T+1 प्रणाली तर्फ लैजाने जनाएको छ। साथै, कारोबारमा हुन सक्ने प्रतिपक्षीय जोखिम (Counterparty Risk) न्यूनीकरण गर्न सेन्ट्रल काउन्टरपार्टी (Central Counterparty–CCP) को अवधारणा कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संस्थागत तयारी पनि अघि बढाइनेछ।
राफसाफ हुन नसकेका धितोपत्र व्यवस्थापनका लागि अक्सन मार्केट सञ्चालन गर्ने योजना पनि बोर्डले अघि सारेको छ।
बजारलाई थप सक्रिय बनाउन सेबोनले इन्ट्रा-डे ट्रेडिङ परीक्षणका रूपमा सुरु गर्ने भएको छ।यो व्यवस्था लागू भएपछि लगानीकर्ताले एकै दिन शेयर किनेर सोही दिन बिक्री गर्न सक्नेछन्। साथै, सर्ट सेलिङ (Short Selling) र धितोपत्र सापटी (Securities Lending and Borrowing – SLB) प्रणाली पनि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना छ।
मूल्यमा हुने अत्यधिक उतारचढाव नियन्त्रण गरि स्थिरता कायम गर्न मार्केट मेकर प्रणाली र अधिकृत सहभागी (Authorized Participant) प्रणालीको विकास विकास गर्ने लक्ष्य पनि नीतिमा समावेश छ।
यसका साथै कारोबारदेखि राफसाफसम्मको सम्पूर्ण प्रक्रियालाई स्वचालित बनाउन Straight Through Processing (STP) प्रणाली लागू गरिनेछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ (CDSC) र बैंकिङ प्रणालीबीचको समन्वयलाई थप मजबुत बनाउँदै भुक्तानी र धितोपत्र हस्तान्तरणलाई पूर्ण रूपमा डिजिटल बनाउने बोर्डको योजना छ।

प्रतिकृया