नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार विकाससँग सम्बन्धित प्राथमिकता र नीतिगत कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले लगानीकर्ता संरक्षणलाई केन्द्रमा राख्दै बजारलाई थप विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यसहित विभिन्न सुधारका कार्यक्रम अघि बढाउने जनाएको हो।
बोर्डका अनुसार नेपालको पूँजी बजार संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासको महत्वपूर्ण चरणमा पुगेको छ। यद्यपि बजारको आकार, गहिराइ, वित्तीय साधनको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरिएको छ।
यही उद्देश्यअनुसार बोर्डले धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीचको समन्वयलाई थप मजबुत बनाउने जनाएको छ।
लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिँदै सामाजिक सञ्जालमार्फत धितोपत्र बजारलाई प्रभावित पार्ने गतिविधि, Finfluencers बाट हुने सूचना प्रवाह, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा वित्तीय ठगीविरुद्ध प्रभावकारी नियामकीय निगरानी गर्ने नीति पनि बोर्डले लिएको छ।
सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई थप व्यवस्थित बनाउन सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार गरिने तथा कम्पनीको वित्तीय र व्यवस्थापकीय अवस्थाको वस्तुपरक अध्ययनपछि मात्र निष्काशन अनुमति दिने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।
मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै बोर्डले यसको कार्यान्वयनमा देखिएका समस्या तथा सीमितता समाधान गर्न नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी यथाशीघ्र सञ्चालनको व्यवस्था गरिने जनाएको छ।
सूचीकरणपछि हुने कारोबारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकडाउन अवधि तथा बाँडफाँटसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिनेछ। त्यसैगरी लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्क पनि पुनरावलोकन गरिने बोर्डको नीति छ।
नेप्से सूचकाङ्कलाई All Equity Index का रूपमा कायम राख्दै कारोबारयोग्य सेयर (Free Float Shares) का आधारमा नयाँ Benchmark सूचकाङ्क विकास गर्ने योजना पनि बोर्डले सार्वजनिक गरेको छ।
यसैगरी सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अघि संगठित संस्थाहरूले गर्ने पूँजी संकलनसम्बन्धी अभ्यासलाई पनि नियमनको दायरामा ल्याइने बोर्डले जनाएको छ।
यी सुधारका कार्यक्रमसँगै बोर्डले आगामी दशकका लागि तयार गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन कार्ययोजना पनि आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।


प्रतिकृया