नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी दशकको पूँजी बजार सुधारको रोडम्यापअनुसार ‘आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति’ सार्वजनिक गरेको छ। “विश्वसनीय, समावेशी, प्रविधिमैत्री र प्रतिस्पर्धी पूँजी बजार: समृद्ध नेपालको वित्तीय आधार” भन्ने नारासहित सार्वजनिक गरिएको नीतिले कानुनी सुधार, प्रविधिमैत्री नियमन, नयाँ वित्तीय उपकरणको विकास र लगानीकर्ता संरक्षणलाई प्राथमिकतामा राखेको छ।
नीतिअनुसार बोर्डले नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन, धितोपत्र बजार व्यवस्थापन, कसुर तथा सजाय सम्बन्धी ऐन तथा ट्रष्टी ऐन को मस्यौदा तयार गर्नेछ। साथै, नियामकीय प्रणालीलाई अन्तर्राष्ट्रिय IOSCO र OECD का मापदण्डअनुसार परिमार्जन गरिने उल्लेख गरिएको छ।
पूँजी बजारको संस्थागत सुधारअन्तर्गत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरिनेछ भने बोर्डलाई प्रविधिमैत्री नियामकका रूपमा विकास गर्न SupTech र RegTech प्रणाली अपनाइनेछ। बजार अनुगमन र अनुसन्धानका लागि ‘मार्केट इन्टेलिजेन्स एन्ड इन्भेस्टिगेशन’ विभाग पनि स्थापना गरिने नीति छ।
बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी कर्पोरेट, नगर, पूर्वाधार तथा हरित ऋणपत्र, SME एक्सचेन्ज, REITs, InvITs र ETFs जस्ता नयाँ वित्तीय उपकरण सञ्चालनमा ल्याउने योजना नीतिले अघि सारेको छ।
डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै पूँजी बजारका अधिकांश सेवा पूर्ण रूपमा डिजिटल बनाइनेछ। बजार निगरानी र जोखिम व्यवस्थापनमा कृत्रिम बुद्धिमत्ता (AI) र बिग डेटा विश्लेषण प्रयोग गरिनेछ भने कारोबार राफसाफलाई छिटो बनाउन T+1 सेटलमेन्ट प्रणाली र सेन्ट्रल काउन्टरपार्टी (CCP) अवधारणा कार्यान्वयन गरिनेछ।
लगानीकर्ता संरक्षणतर्फ राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सञ्चालन गरिने, भित्री कारोबार (Insider Trading) र बजार चलखेलविरुद्ध शून्य सहनशीलता नीति अपनाइने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने फिनफ्लुएन्सरहरूको समेत निगरानी गरिने नीतिमा उल्लेख छ। साथै, गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा लगानी गर्न कानुनी व्यवस्था मिलाइने र विदेशी संस्थागत लगानीकर्तालाई चरणबद्ध रूपमा बजारमा प्रवेश गराइने योजना पनि समावेश गरिएको छ।
यसका अतिरिक्त कृषि, ऊर्जा र धातुजन्य वस्तुको संगठित कारोबारका लागि वस्तु विनिमय बजार (Commodity Exchange) तथा मूल्य जोखिम व्यवस्थापनका लागि डेरिभेटिभ्स (Futures & Options) बजार विकासलाई पनि प्राथमिकता दिइएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ लाई आगामी दशकको मार्गदर्शक दस्तावेजका रूपमा कार्यान्वयन गरिने बताउँदै यसले राष्ट्रिय बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै पूँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया