नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति मार्फत पूँजी बजारलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने ‘डिजिटल फर्स्ट’ अवधारणा अघि सारेको छ। नीतिअनुसार बजारको निगरानीदेखि सेवा प्रवाहसम्म कृत्रिम बुद्धिमत्ता (AI), बिग डेटा र डिजिटल प्रणालीको प्रयोग विस्तार गरिनेछ।
बोर्डले आफूलाई परम्परागत नियामकबाट प्रविधि-सक्षम नियामक मा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। यसका लागि SupTech (सुपरभाइजरी टेक्नोलोजी) र RegTech (रेगुलेटरी टेक्नोलोजी) को प्रयोग संस्थागत गरिनेछ भने बजारमा हुने शंकास्पद कारोबार, भित्री कारोबार (Insider Trading) र मूल्य हेरफेर (Market Manipulation) पहिचान गर्न AI आधारित रियल-टाइम निगरानी प्रणाली विकास गरिनेछ।
सेबोनले पूँजी बजारका अधिकांश सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने योजना पनि अघि सारेको छ। अनुमतिपत्र, सूचीकरण, प्रतिवेदन पेस गर्ने प्रक्रिया र लगानीकर्ताको गुनासो व्यवस्थापनलाई एकीकृत डिजिटल प्रणालीमार्फत सञ्चालन गरिनेछ। साथै, लगानीकर्ताको KYC प्रक्रियालाई सहज बनाउन डिजिटल KYC र बायोमेट्रिक पहिचान प्रणाली कार्यान्वयनको सम्भाव्यता अध्ययन गरिने नीति छ।
धितोपत्र अभिलेखीकरण र कारोबार राफसाफलाई थप सुरक्षित र प्रभावकारी बनाउन ब्लकचेन प्रविधि प्रयोगको सम्भावना पनि अध्ययन गरिनेछ।
बढ्दो डिजिटल कारोबारसँगै साइबर सुरक्षालाई पनि उच्च प्राथमिकता दिइएको छ। यसअन्तर्गत पूँजी बजारका सूचना प्रणालीमा आउन सक्ने साइबर आक्रमण र प्राविधिक जोखिम व्यवस्थापनका लागि फाइनान्सियल कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (Fin-CERT) गठन गरिनेछ। साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ (CDSC) लगायत बजार पूर्वाधार संस्थाहरूको नियमित साइबर सुरक्षा अडिट अनिवार्य बनाइने नीति छ।
बोर्डले पूँजी बजारसम्बन्धी तथ्याङ्कको सुरक्षित व्यवस्थापनका लागि एकीकृत पूँजी बजार डेटा व्यवस्थापन प्रणाली पनि विकास गर्ने योजना अघि सारेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया