युक्रेनसँगको युद्धविरामका लागि रुसले राख्यो यस्ता सर्तहरु
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि विभिन्न सर्तहरू अघि सारेका छन्। उनले युद्धविरामको अवधारणालाई सही ठाने पनि केही महत्वपूर्ण प्रश्नहरू बाँकी रहेको बताएका छन्।
युक्रेनले अमेरिकासँगको वार्तामा ३० दिने युद्धविरामको प्रस्तावमा सहमति जनाएको थियो। तर, बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा पुटिनले युद्धविराम घोषणाबारे स्पष्ट गर्दै भने, “यो विचार सही छ, हामी यसलाई समर्थन गर्छौं। तर, शान्ति स्थायी हुनुपर्छ र यस संकटको मूल कारणहरू समाधान गर्न आवश्यक छ।”
रुसको दाबीअनुसार, गत वर्ष युक्रेनले कुर्स्क क्षेत्रमा सैन्य आक्रमण गरी केही भूभाग कब्जा गरेको थियो। हाल रूसले उक्त क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको र त्यहाँ रहेका युक्रेनी सेनाहरू अलपत्र परेको पुटिनको भनाइ छ। उनले चेतावनी दिँदै भने, “कुर्स्कमा युक्रेनसँग दुई विकल्प छन्— आत्मसमर्पण गर या मर।”