टिम बिक्रीको हल्ला असत्य हो: कर्णाली याक्स
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा प्रभावशाली प्रदर्शन गरेको कर्णाली याक्सले बुधबार एक विज्ञप्ति जारी गर्दै टिम बिक्रीसम्बन्धी हल्ला पूर्ण रूपमा असत्य रहेको स्पष्ट पारेको छ। क्लबले आफ्ना शुभचिन्तक र समर्थकहरूलाई गलत सूचनाको पछि नलाग्न आग्रह गर्दै, टिम बिक्री वा मालिक परिवर्तनको कुनै सम्भावना नरहेको प्रस्ट्याएको छ। क्लबका मालिक गृहेन्द्र घिमिरेले आधारहीन समाचारहरूले कर्णाली याक्सको पहिचान र समर्पणमाथि अन्याय गरेको बताएका छन्।
पहिलो संस्करणमा कर्णाली याक्सले प्लेअफसम्मको यात्रा तय गर्दै सशक्त प्रदर्शन गरेको थियो। नेपाली क्रिकेटका स्टार सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका टिममा पूर्व विश्व च्याम्पियन भारतीय क्रिकेटर शिखर धवनको समेत सहभागिता थियो। क्लबले कर्णाली याक्स केवल एक क्रिकेट टिम मात्र नभई, कर्णाली प्रदेशको गौरवपूर्ण प्रतिनिधि भएको भन्दै नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी ल्याएर खेल पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिएको बताएको छ। शिखर धवनको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोग पुगेको भन्दै क्लबले यसलाई गर्वको विषयका रूपमा लिएको छ।
मंगलबार सामाजिक सञ्जालमा कर्णाली याक्स बिक्रीमा रहेको तथा मालिक परिवर्तन हुन लागेको अफवाह फैलिएपछि क्लबले तुरुन्तै आधिकारिक विज्ञप्ति जारी गर्दै यस्ता दाबीहरूको पूर्ण रूपमा खण्डन गरेको हो। विज्ञप्तिमा क्लबले कर्णालीबासीको भावनासँग खेलिएको भन्दै, आधारहीन समाचारहरूले टिमको प्रतिबद्धता र समर्थकहरूप्रति देखाएको लगनशीलतामाथि चोट पुर्याएको उल्लेख गरेको छ। क्लबले नियोजित रूपमा फैलाइएका यस्ता अफवाहहरूको पछि नलाग्न शुभचिन्तकहरूलाई आग्रह गर्दै, दोस्रो संस्करणका लागि अझ बलियो तयारी भइरहेको जनाएको छ।