रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने योजना बनाएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमा ११ करोड ८५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि रहनेछ।
सेयर खरिदका लागि गोरखा जिल्लाका अजिरकोट गाउँपालिका सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्लाका दुधपोखरी गाउँपालिका वडा नं १, २, ३ तथा दोर्दी गाउँपालिका वडा नं ४, ५, ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत सेयर, अर्थात् १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वितरण हुनेछ।
आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा पुस २८ र ढिलोमा माघ १२ सम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस १७ र ढिलोमा पुस २८ सम्म आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई आइपीओ रेटिङ्गमा केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय (गोरखा), प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालय वा https://ipoapply.prabhucapital.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आयोजनाका प्रभावित बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।








![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया