राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याइएको घटनामा आपत्ति प्रकट गरेको छ।
रास्वपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले उक्त कार्य गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री र सांसद रवि लामिछानेलाई चितवनबाट पोखरा लगिएको घटनामा पार्टीको घोर आपत्ति छ। सभापतिलाई दिनभर चितवनको सरकारी वकीलको कार्यालयमा बयान गराएर राति सुतिरहेको बेला अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको छ। यो घटनाको आश्चर्यजनक र निन्दनीय स्वरूप सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी स्रोतबाट प्राप्त भएको छ।”
रास्वपाले आरोप लगाएको छ कि सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी दलका नेतालाई यातना दिने अमानवीय र अपमानजनक व्यवहार गरेको छ।
यसैबीच, रास्वपाले सभापति लामिछानेलाई हिरासतबाटै उनको निजी डायरी गायब गरिएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी यस घटनाको घोर भर्त्सना गर्दछौं। यो सरकारको कर्मले नागरिकको मानवअधिकार हनन् गरेको हो। यस निर्मम कदमको औचित्य राज्यले प्रमाणित गर्नुपर्नेछ। राष्ट्रिय मानवअधिकार आयोग र अन्य मानवअधिकार संस्थाहरूसँग यस घटनाप्रति गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौं।”
रास्वपाले लामिछानेलाई कसुरदार नभइ एक आरोपित मात्र भएको र सरकारको कानुनी प्रक्रियामा सहयोग गर्दै नागरिक कर्तव्य निर्वाह गरिरहेको जनाएको छ। “अनुसन्धानमा सहयोग गर्दै एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो प्रचार गर्नु नेपालको संविधान र मुलुकी अपराध संहितासँग असंगत छ,” विज्ञप्तिमा भनिएको छ।
रास्वपाले यस घटनामा दोषीमाथि कानुनी कारवाहीको माग गर्दै भनेको छ, “यो घटनाले राज्य संयन्त्र रास्वपा र यसका सभापतिविरुद्ध षड्यन्त्रपूर्वक सक्रिय रहेको स्पष्ट बनाएको छ।”
रास्वपाले न्यायप्रेमी जनसमुदायलाई राज्यको न्यायिक प्रणाली, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन अपील गरेको छ।


प्रतिकृया