पियोर इनर्जी लिमिटेडले सिंगल आइजिन (अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर) नपाउने भएको छ । कम्पनीले संस्थापक र साधारण सेयरका लागि एउटै आइजिन कायम गर्न माग गर्दै दायर गरेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको छ ।
कम्पनीले आफ्ना ६४ लाख कित्ता सेयरलाई समान आइजिन नम्बर प्रदान गरी डिम्याट गर्नुपर्ने, संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आइजिन दिने व्यवस्था रोक्नुपर्ने तथा नेपाल धितोपत्र बोर्ड र सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट भएका निर्णय बदर गर्नुपर्ने माग गर्दै अदालत पुगेको थियो ।
तर उच्च अदालत पाटनका न्यायाधीशद्वय गणेशप्रसाद बराल र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले कम्पनीको मागअनुसार आदेश जारी गर्न आवश्यक आधार नदेखिएको भन्दै रिट खारेज गरेको हो ।
पियोर इनर्जीका तर्फबाट कम्पनीका अध्यक्ष अक्षय गोल्यान र भारतीय सेयरधनी आरइनर्गो डेभलपर्स प्रालिका अख्तियारप्राप्त सञ्चालक निशान्त गोयलसमेतको वारेसका रूपमा काठमाडौं–२९ की कविता कार्कीले रिट दर्ता गराएकी थिइन् ।
रिटमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, सिडिएससीका तत्कालीन प्रबन्ध सञ्चालक प्रवीन पन्दाक तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई विपक्षी बनाइएको थियो ।
अदालतको फैसलासँगै संस्थापक सेयर र साधारण सेयरका लागि छुट्टाछुट्टै आइजिन निर्धारण गर्ने विद्यमान अभ्यास कानुनसम्मत ठहरिएको छ ।
सिडिएससीले संस्थापक र साधारण सेयरका लागि अलग–अलग आइजिन लागू गर्ने व्यवस्था समेटेर नेपाल धितोपत्र बोर्डमा निर्देशिका मस्यौदा पठाइसकेको छ । उक्त मस्यौदामा संस्थापक र सर्वसाधारण सेयर एउटै आइजिनमा ल्याउन कम्पनीको साधारणसभाबाट स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यद्यपि, ऊर्जा क्षेत्रका अधिकांश व्यवसायीहरू भने दोहोरो आइजिनको व्यवस्थाको विपक्षमा रहँदै आएका छन् । उनीहरूले एउटै कम्पनीको सेयरलाई दुईवटा आइजिनमा विभाजन गर्दा कारोबार र व्यवस्थापनमा जटिलता आउने तर्क गर्दै आएका छन् ।

प्रतिकृया