प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बोर्ड अध्यक्ष नियुक्तिको निर्णय हुन सक्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बोर्ड अध्यक्ष नियुक्तिको निर्णय हुन सक्ने

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असार ५ गते शुक्रबार अपरान्ह ४:३० बजे सिंहदरबारस्थित कार्यालयमा बस्नेछ। मन्त्रिपरिषद् बैठकमा लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिको विषय टुंगो लाग्न सक्ने स्रोतले जनाएको छ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड दुई महिनादेखि नेतृत्वविहीन अवस्थामा छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा मुछिएपछि तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ।

नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएर अन्तिम चरणसम्म पुर्‍याइसकेको छ। खुला प्रतिस्पर्धाबाट ४७ जनाले आवेदन दिएका थिए। उम्मेदवार छनोटका लागि गठन गरिएको सिफारिस समितिले अन्तर्वार्ता प्रक्रिया पूरा गरी तीन जनाको नाम पठाइसकेको छ।

सिफारिसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट र नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री रहेका छन्।तर सुची आएपछि पनि मन्त्रिपरिषद्ले निर्णय गर्न सकेको छैन।

स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको नेतृत्व टुंगो लगाउने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स