नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्ष (२०२६–२०३६) का लागि नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको, प्रविधिमैत्री र पूर्ण डिजिटल वित्तीय प्रणालीमा रूपान्तरण गर्ने दीर्घकालीन रोडम्याप सार्वजनिक गरेको छ। बोर्डले बैंक–केन्द्रित वित्तीय संरचनाबाट पूँजी बजार–केन्द्रित प्रणालीतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित यो योजना तीन चरणमा कार्यान्वयन गर्ने जनाएको छ।
नीतिअनुसार रोडम्यापलाई आधार निर्माण (२०२६–२०२७), विस्तार तथा आधुनिकीकरण (२०२८–२०३०) र अन्तर्राष्ट्रियकरण (२०३१–२०३६)गरी तीन चरणमा विभाजन गरिएको छ।
पहिलो चरण: कानुन, प्रविधि र पूर्वाधार निर्माण
रोडम्यापको पहिलो चरणमा धितोपत्रसम्बन्धी कानुनी सुधार, संस्थागत क्षमता विकास र डिजिटल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।
यस अवधिमा धितोपत्र ऐन संशोधन, कर्पोरेट सुशासन मापदण्ड परिमार्जन, आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित बजार निगरानी प्रणाली, ई–केवाईसी (e-KYC) तथा डिजिटल डिस्क्लोजर प्लेटफर्म कार्यान्वयन गरिनेछ।
यही चरणमा गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा प्रवेश गराउने आधार तयार गरिनेछ। साथै कर्पोरेट ऋणपत्र, ग्रीन बन्ड, सर्ट सेलिङर इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार गरिने बोर्डले जनाएको छ।
दोस्रो चरण: बजार विस्तार र नयाँ वित्तीय उपकरण
सन् २०२८ देखि २०३० सम्म सञ्चालन हुने दोस्रो चरणमा बजारको गहिराइ बढाउने र नयाँ वित्तीय उपकरण विस्तारमा जोड दिइनेछ।
यस अवधिमा एसएमई एक्सचेञ्ज र स्टार्टअप बोर्ड सञ्चालनमा ल्याइनेछ, जसबाट साना तथा नवप्रवर्तनमुखी कम्पनीहरूले पूँजी बजारमार्फत लगानी जुटाउन सक्नेछन्।
त्यसैगरी Qualified Foreign Institutional Investor (QFII) ढाँचा कार्यान्वयन गरी विदेशी संस्थागत लगानीकर्तालाई बजारमा प्रवेश गराइनेछ। यसका लागि कस्टोडियन बैंकिङ सेवा समेत विकास गरिने योजना छ।
बोर्डले यस चरणमा कर्पोरेट बन्ड, ग्रीन बन्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (REITs), इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (InvITs) र एक्सचेन्ज ट्रेडेड फण्ड (ETF) जस्ता नयाँ वित्तीय उपकरण सञ्चालन गर्ने जनाएको छ।
साथै धितोपत्र राफसाफका लागि ब्लकचेन प्रविधिको पाइलट परियोजना सञ्चालन गर्दै पूँजी बजारलाई पूर्ण रूपमा पेपरलेस बनाउने लक्ष्य राखिएको छ।
तेस्रो चरण: अन्तर्राष्ट्रियकरण र विश्व बजारसँग जोड्ने योजना
सन् २०३१ देखि २०३६ सम्मको अन्तिम चरण नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न केन्द्रित हुनेछ।
यस चरणमा डेरिभेटिभ्स बजार (स्टक फ्युचर्स, इन्डेक्स फ्युचर्स तथा मुद्रा डेरिभेटिभ्स) सञ्चालन गर्ने तथा कमोडिटी एक्सचेञ्ज स्थापना गरी सुन, चाँदी तथा चिया, कफी, अलैंचीजस्ता कृषि वस्तुको संगठित कारोबार सुरु गर्ने योजना छ।
त्यस्तै क्रस–बोर्डर धितोपत्र राफसाफ, अन्तर्राष्ट्रिय कस्टोडियन नेटवर्क विकास तथा नेपालको पूँजी बजारलाई ग्लोबल इन्डेक्स मा समावेश गराउने प्रयास पनि यस चरणमा गरिने उल्लेख छ।
यससँगै ब्लकचेनमा आधारित राफसाफ प्रणाली पूर्ण रूपमा कार्यान्वयन गरी T+0 सेटलमेन्ट प्रणाली लागू गर्ने लक्ष्य बोर्डले राखेको छ, जसबाट शेयर र रकमको तत्काल राफसाफ सम्भव हुनेछ।
२०३६ सम्मका लक्ष्य
सेबोनले यो १० वर्षे रोडम्यापमार्फत बजार पूँजीकरण (Market Capitalization) लाई कुल गार्हस्थ्य उत्पादन (GDP) को १५० प्रतिशतभन्दा माथि पुर्याउने तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने लक्ष्य लिएको छ।
बोर्डका अनुसार यो योजना कार्यान्वयन भएपछि नेपालको पूँजी बजार केवल सेयर कारोबारमा सीमित नरही राष्ट्रिय आर्थिक रूपान्तरणको प्रमुख वित्तीय आधार तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने प्लेटफर्मका रूपमा विकास हुनेछ।



प्रतिकृया