नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रा गरेर सिस्ने गाउँपालिका–२ नायगाड हुँदै रूकुमकोटको सदरमुकाम पुगेका छन्। जिल्लाका विभिन्न विकट क्षेत्रको भ्रमण पछि उनले पत्रकार सम्मेलनमा आफ्ना अनुभव सार्वजनिक गरे।
संयोजक प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहितका दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा दिएको बताए। उनले जनताबाट सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग आएको जानकारी दिए।
प्रचण्डका अनुसार रूकुमपूर्वका जनताले सडक सञ्जाल मात्र नभई शिक्षा, पर्यटन र रोजगारीमा विशेष चासो देखाएका छन्। ‘यसअघि निर्वाचित नेताबाट भएका कामप्रति जनताले स्वीकार र खुसी देखाएका छन्, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने अपेक्षा स्पष्ट छ,’ उनले भने। उनले आफूप्रति रूकुमपूर्वमा देखाइएको असाधारण विश्वास र अपेक्षाले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताए।
अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि प्रचण्डले जनाए। रूकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ भन्दै उनले यहाँबाट समाजवादको नयाँ यात्रा सुरू गर्ने उद्घोष गरे। ‘देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरू गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रूकुमपूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्वपूर्ण हुन्छ,’ उनले बताए।

















प्रतिकृया