जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना झापाका र एक जना इलामका रहेका छन्। प्रहरीले लागुऔषध कारोबारीको खोजी गर्ने क्रममा लुटिएका २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, सुरुमा रानीपोखरीबाट हतियार लुट्ने मध्येका एक दमक–८ का २५ वर्षीय सरोज पुरी पक्राउ परेका थिए। पुरी जेनजी आन्दोलनका क्रममा काठमाडौं पुगेका थिए। उनको कोठाबाट लुटिएको टाइप–५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको थियो। सोधपुछका क्रममा पुरीले उक्त पेस्तोल र गोली दमक–६ का २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताए। विश्व नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्।
पुरीको बयानका आधारमा प्रहरीले विश्व लिङ्देनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले पेस्तोल इलामका साथी पवन हाङसुङ्वालाई बेचेको बताए। प्रहरी टोली सोमबार इलाम, चुलाचुली गाउँपालिका–४ आइतबारे पुगेको थियो। पवन हाङसुङ्वाले २० हजार रुपैयाँमा पेस्तोल किनेको र बारीमा लुकाएको बताएका थिए। उत्खनन गर्दा रातो प्लास्टिकको झोलामा ५ राउण्ड गोली लोड गरिएको टाइप–५४ पेस्तोल भेटिएको छ। पेस्तोल माटोमा गाडिएको कारणमा खिया लागेको थियो।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले तीनै जना लागुऔषध प्रयोगकर्ता जस्तो देखिएको उल्लेख गरेको छ। रानीपोखरी प्रहरीले थप अनुसन्धान गर्ने तयारीमा छ। बरामद पेस्तोल र २० राउण्ड गोलीसहित तीनै जनालाई कारबाही अघि बढाउन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया