प्रधानमन्त्रीले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनले घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्।
सरकारले घटनाको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका कदम चालिने प्रधानमन्त्रीको भनाइ छ। उनले नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कानुनी दायरामा ल्याउनु र पीडितलाई न्याय दिलाउनु सरकारको पहिलो दायित्व रहेको बताएका छन्।
यसका साथै, प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गरेका छन्। उनले सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैमा आह्वान गर्दै एकअर्कालाई प्रेम र सम्मान गर्न जोड दिएका छन्।

प्रतिकृया