पहिलो संस्करणको नेशनल साइबर ओलम्पियाड–२०८१ भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धा प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रममार्फत सुरु भएको थियो। फाइनल चरण तथा समापन समारोह फागुन १५ गते रसियन हाउस, कमलपोखरी, काठमाडौंमा सम्पन्न भयो।
कुल २४ टिममध्ये उत्कृष्ट हुँदै फाइनलमा ४ वटा +२ कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये कोटेश्वर, काठमाडौंको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले प्रथम स्थान हासिल गर्यो भने बागबजार, काठमाडौंको काठमाडौं मोडेल कलेज दोस्रो तथा चौथो स्थानमा रह्यो। डिल्लीबजार, काठमाडौंको कलेज अफ बिजनेस म्यानेजमेन्टले तेस्रो स्थान प्राप्त गर्यो।
नेशनल साइबर ओलम्पियाड सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हो। यस संस्करणमा काठमाडौं उपत्यकाका २४ विद्यालयका माध्यमिक तहका ७२ जना विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका थिए। प्रतियोगितामा सूचना प्रविधिसम्बन्धी सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्बलिङ र ग्यासपिङ गरी सातवटा राउन्ड समावेश गरिएको थियो। प्रतिस्पर्धा तीन चरणमा सम्पन्न गरिएको थियो, जसमा क्वालिफाइङ, सेमिफाइनल र फाइनल चरण रहेका थिए।
समापन समारोहमा प्रमुख अतिथि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे उपस्थित थिइन्। साथै विशेष अतिथिका रूपमा रसियन हाउसकी उपनिर्देशक साकानुश वान्यान र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थानका प्राध्यापक एवं आईटी इनोभेसन सेन्टरका निर्देशक प्रो. डा. सुवर्ण शाक्यले पनि उपस्थित थिए।
प्रतियोगितामा विजेता क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले नगद रु ३०,०००, ट्रफी, मेडल, प्रमाणपत्र तथा अन्य उपहार प्राप्त गर्यो। दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने कलेजहरूलाई पनि ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न उपहारहरू प्रदान गरियो।
प्रतियोगिताको मुख्य प्रायोजन टेकस्पाएर कलेज, नयाँ बानेश्वर, काठमाडौंले गरेको थियो। साथै, रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, फुडमाण्डु, पठाओ, जुनियर उद्यमशीलता सर्कल, आईएनआई सिनेमा, पीसीपीएस कलेज, मोटर सेवा लगायतका संस्थाहरूले प्रायोजन गरेका थिए।
बजारको चिरफार प्रतियोगिताको सपोर्टेड वाई प्रायोजक रूपमा आबद्ध भएको थियो।
प्रशिक्षणका अध्यक्ष लक्ष्मण पोखरेलका अनुसार आगामी संस्करण सातै प्रदेशमा विस्तारित गर्दै अझ परिष्कृत रूपमा आयोजना हुनेछ।


















प्रतिकृया