आजका लागि पुँजी बजारका महत्वपूर्ण अपडेटसहित बजारको चिरफार Morning Walk मा स्वागत छ।
अहिलेसम्म बजारमा के भयो, कुन कम्पनीले के निर्णय गर्यो र आज लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के छन्? छोटकरीमा हेरौँ।
माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको २०८३ असोज २६ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको १४६औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र आगामी कात्तिक २० गते हुने कम्पनीको १३औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक १० गते एक दिन सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णयसमेत गरेको छ। उक्त मितिअनुसार बुक क्लोज हुनुअघिको सेयरधनी दर्ता विवरणका आधारमा साधारणसभामा सहभागी हुने तथा लाभांश प्राप्त गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइनेछ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरका आधारभूत सेयरधनी तिमल्सिनाले ४ लाख ६० हजार कित्ता सेयर बेच्ने
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी रामप्रसाद तिमल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार तिमल्सिनाले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहितको निवेदन असोज २२ गते कम्पनीमा दिएका हुन्।
भिजन लुम्बिनी ऊर्जाको १ करोड ६७ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको १ करोड ६७ लाख ६२ हजार ८४० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुने भएको छ। कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।
कम्पनीका अनुसार उक्त सेयरको लकइन अवधि सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले तीन वर्ष रहेको छ।
लकइन अवधि समाप्त हुन लागेका सेयरमध्ये संस्थापक समूहको १ करोड ५३ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित ३८ हजार २५० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित १४ लाख २४ हजार ५९० कित्ता रहेका छन्।
गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद कति ?
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज २८ गते बुकक्लोज गर्ने भएको छ।
यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले संस्थाको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले कात्तिक १० गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।
हिजोका समाचार छुटाउनुभयो कि?
आज बिहानका लागि पुँजी बजारका महत्वपूर्ण अपडेट यति नै।
दिनभर बजारमा भएका महत्वपूर्ण गतिविधिसहित साँझ फेरि बजारको चिरफार Evening Walk मा भेट्नेछौँ। धन्यवाद।

प्रतिकृया