सुनचाँदी व्यवसायीको हितमा कर सुधार गर्न संसदीय समितिको निर्देशन
सुनचाँदी व्यवसायीको संरक्षण गर्दै कर प्रणालीलाई प्रभावकारी बनाउने विषयमा संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकले उद्योगी व्यवसायीहरूलाई संरक्षण गर्ने र कर प्रणालीलाई चुस्त बनाउने खालको नीति आवश्यक रहेको निष्कर्ष निकाल्दै सरकारलाई आवश्यक कदम चाल्न निर्देशन दिएको हो। उद्योगी व्यवसायीहरू बाँकी रहे मात्र कर संकलन सम्भव हुने भएकाले उनीहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको समितिको ठहर छ । ।
बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदनबारे छलफल भएको थियो।
यसअघि, आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै उनीहरू व्यवसाय बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । असार मसान्तभित्र माग सम्बोधन नभए विभिन्न विषयगत समूह मार्फत साझा संघर्ष तथा सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका थिए ।