प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्। आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने टिमका क्याप्टेन, खेलाडी, नेपाल क्रिकेट संघ र व्यवस्थापकहरूलाई बधाई दिएका हुन्।
शनिबार कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। प्रधानमन्त्री ओलीले टिमलाई बधाई दिँदै भविष्यमा अझ ठूला सफलता हासिल गर्न शुभकामना व्यक्त गरे। उनले नेपाली क्रिकेटले विश्वस्तरमा ख्यातिप्राप्त ब्याट्सम्यान उत्पादन गर्न सक्ने आत्मबल, सीप र उत्साह विकास गर्न आग्रह गरे।
“यो केवल टिमको मात्र होइन, सम्पूर्ण नेपालीको जित हो। एनपिएलको जितले हाम्रो खेलकुद क्षमताको उच्च प्रदर्शन देखाएको छ। सुदूरपश्चिम पनि निकै बलियो टिम थियो। जनकपुर बोल्ट्सले कठोर प्रतिस्पर्धा गर्दै विजय हासिल गरेकोमा म बधाई दिन्छु,” प्रधानमन्त्री ओलीले भने। उनले खेलाडीहरूलाई ‘हिरो’ र ‘महानायक’को रूपमा प्रशंसा गर्दै खेलकुदको विकासले देश विकासको स्तर मापन गर्ने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको सुरूवातमै कीर्तिपुर क्रिकेट मैदानको स्तरउन्नतिको निर्णय गरिएको स्मरण गर्दै खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। विदेशी खेलाडीलाई नेपाल ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग प्राप्त गर्न झन्झटिलो प्रक्रियाबारे क्रिकेट संघ र व्यवस्थापकहरूले व्यक्त गरेका गुनासो सुनेपछि उनले ती प्रक्रियालाई सहज बनाउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले खेललाई प्राथमिकतामा राखेकोमा सरकारलाई धन्यवाद दिए। उनले विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झन्झट कम गर्न आग्रह गरे। जनकपुर बोल्ट्सका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्रीसँग बधाई र सम्मान प्राप्त गर्दा खुसी लागेको प्रतिक्रिया दिए।





















प्रतिकृया