नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षले धितोपत्र बजार सधैं उकालो लागिरहन नसक्ने उल्लेख गर्दै बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था विकास गर्ने दिशामा बोर्डले काम गरिरहेको बताएका छन्।
संसद्को अर्थ समितिमा धितोपत्र बोर्डमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्षले बजार घट्दा लगानीकर्ता चिन्तित हुने र बढ्दा सबै खुसी हुने अवस्था रहेको उल्लेख गर्दै नेपालमा बजार जहिले पनि बढिरहनुपर्छ भन्ने अपेक्षा अत्यधिक रहेको बताए।
उनले भने, “बजार घट्यो भने सबै चिन्तित हुन्छन्। बजार बढ्यो भने सबै खुसी हुन्छन्। यो बजार जहिले पनि बढिरहनुपर्छ भन्ने मान्यता छ। सबैले भन्छन् कि बजार बढ्नै पर्यो, बढ्नै पर्यो। तर एकचोटि धेरै बढ्ने हो भने फेरि ‘धितोपत्र बोर्डले के हेरिराख्या? अनावश्यक रूपमा यसरी बढ्यो’ भन्ने क्वेस्चन पछि आउँछ। तर सामान्य एक्सपेक्टेसन, नेपालको कन्टेस्टमा भन्ने हो भने, बजार बढी नै रहनुपर्ने। ३ हजारमा पुगेर पनि कोही खुसी हुनेवाला छैन। ३५ सय पुगे पनि हुनेवाला छैन। ५ हजार पुगे पनि हुनेवाला छैन। यसको कुनै लिमिट छैन। त्यसो हो भने बजार सधैं बढिरहन त सक्दैन। हजुरहरूलाई सबैलाई थाहा छ, संसारको कुनै पनि इन्डेक्स बढ्या-बढ्यै गर्नेवाला छैनन्। तर नेपालमा ५ हजारमा पुगेर पनि यदि बजार घट्यो भने धितोपत्र बोर्ड घेराउनै हुनेवाला छ। हिजो भयो। हिजो पनि भयो। मैले हिजो सामना गरेर आएँ। मेरो जीवनमा पहिलो पटक घेराउको पनि सामना गरेर आएँ।”

प्रतिकृया