काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण यात्रुहरू महँगो भाडा तिर्न बाध्य भइरहेको अवस्थालाई सुधार गर्ने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो।
महानगरपालिकाका अनुसार दुईवटा मुख्य रुटमा सेवा सञ्चालन गरिनेछ। पहिलो रुट ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म रहनेछ।
दोस्रो रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म विस्तार हुनेछ।
यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्। बसहरू राति ८ बजेदेखि ११ बजेसम्म चल्नेछन् र प्रत्येक बस स्टपमा २० मिनेटको अन्तरालमा सेवा उपलब्ध हुने व्यवस्था मिलाइनेछ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूलाई समस्या परेको उल्लेख गर्दै सेवा सुरु गर्न लागिएको बताइन्। उनका अनुसार यस सेवाले सुरक्षित, सहज र भरपर्दो यातायात प्रणाली विकास गर्न मद्दत पुग्नेछ।
यात्रु सुरक्षालाई प्राथमिकता दिँदै बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने नगर प्रहरी परिचालन गरिनेछ। महानगरपालिकाले सेवा अझ प्रभावकारी बनाउन अन्य साझेदारहरूसँग सहकार्य गर्न पनि खुला रहेको जनाएको छ।















प्रतिकृया