संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा ६ नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्। काठमाडौं, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न लागेका हुन्।
रात्रिकालीन बसहरू गोदावरी–बुढानीलकण्ठ, जगाती–रत्नपार्क–ठमेल, विमानस्थल–नागढुङ्गा, कीर्तिपुर–नयाँ सडक तथा चक्रपथ लगायतका रुटमा सञ्चालन हुनेछन्। चक्रपथमा दुईतर्फी बस सेवा सञ्चालन भएपछि यात्रुले बीचमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न स्थानमा पुग्न सक्ने व्यवस्था हुनेछ।
रात्रिकालीन बसमा यात्रुले अधिकतम ८० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ। बैठकले नगरपालिकाहरूको वित्तीय साझेदारीमा रात्रिकालीन बस सेवा निरन्तर सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
सेवा सञ्चालनका लागि आवश्यक रुट अनुमति सहज बनाउन यातायातसम्बन्धी कानुन संशोधनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ।
रात्रिकालीन सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन स्थानीय तहले सार्वजनिक स्थलमा रातिसम्म मेला, महोत्सव तथा अन्य गतिविधि सञ्चालन गर्ने भएका छन्। यस्तै, बसको गन्तव्यमा चार्जिङ केन्द्र निर्माण तथा रात्रिकालीन बसपार्क व्यवस्थापनमा समेत स्थानीय तहले सहयोग गर्ने निर्णय भएको छ।





















प्रतिकृया