एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँको आधारमा हकप्रद सेयर जारी गर्न लागेको हो। बैंकले हालको चुक्ता पूँजी बराबर रहेका १४ करोड ९१ लाख ७५ हजार कित्ता साधारण सेयरमध्ये प्रत्येक २ कित्ता सेयर बराबर १ कित्ता नयाँ साधारण सेयर (२ः१ अनुपात) जारी गर्नेछ।
यसअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसबाट ७ अर्ब ४५ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको रकम संकलन हुनेछ।
बैंकका अनुसार हकप्रद सेयरबाट प्राप्त रकम पूँजी संरचना थप सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत बनाउन तथा दीर्घकालीन व्यवसायिक विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयन गर्न उपयोग गरिनेछ।
हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा भएपछि निष्काशन कार्य अगाडि बढाइने बैंकले जनाएको छ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत (CFO) रुपेश लुइटेल तथा एनआइएमबि एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

प्रतिकृया