नेपालको आईटी सेवा निर्यात करिब १ अर्ब डलर नाघ्यो, वार्षिक डेढ खर्ब रुपैयाँ हाराहारी

नेपालको आईटी सेवा निर्यात करिब १ अर्ब डलर नाघ्यो, वार्षिक डेढ खर्ब रुपैयाँ हाराहारी

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) नेपालले सन् २०२५ सम्म आइपुग्दा सूचना प्रविधि (आईटी) सेवा निर्यात करिब १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब ४५ अर्ब रुपैयाँ हाराहारी पुगेको अनुमान गरेको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नास-आईटीका अध्यक्ष गौरवराज पाण्डेले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार सन् २०२२ मा आईआईडीएस ले गरेको अध्ययनमा नेपालको आईटी निर्यात ६७ अर्ब रुपैयाँ देखिएको थियो। पछिल्लो अनौपचारिक अध्ययन र क्षेत्रीय अनुमानका आधारमा उक्त रकम बढेर अहिले करिब १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको आँकलन गरिएको छ। औपचारिक सरकारी अध्ययन भने सार्वजनिक भएको छैन।

१० वर्षमा २२ अर्ब डलर निर्यात लक्ष्य

सरकारले आगामी १० वर्षमा २२ अर्ब डलरको क्युमिलेटिभ आईटी निर्यात र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। नास-आईटीका अनुसार हाल आईटी क्षेत्रमा करिब १ लाख जनशक्ति कार्यरत छन्।

अध्यक्ष पाण्डेले वर्तमान वृद्धिदरलाई आधार मान्दा सरकारको लक्ष्य प्राप्ति सम्भव देखिने बताए।

उनले नेपालको युवा जनसङ्ख्याको बाहुल्यता, अङ्ग्रेजी भाषामा दक्ष जनशक्ति तथा अस्ट्रेलिया, जापान र युरोपसँग अनुकूल टाइम जोन जस्ता पक्षलाई नेपाल आईटी हब बन्ने आधारका रूपमा औंल्याए।

नास-आईटीका कोषाध्यक्ष अभय पौडेलले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न कम्तीमा १० वर्षका लागि स्थिर र स्पष्ट नीति आवश्यक रहेको बताए।

सरकारी खरिद प्रक्रियामा पनि स्वदेशी आईटी कम्पनीलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ। नास-आईटीले १० करोड रुपैयाँसम्मको सफ्टवेयर खरिदमा नेपाली कम्पनीलाई अनिवार्य गर्न र ठूला ठेक्कामा कम्तीमा ४० प्रतिशत हिस्सा स्थानीय कम्पनीलाई सुनिश्चित गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड जस्तै आईटी क्षेत्रका लागि पनि छुट्टै ‘आईटी प्रवर्धन बोर्ड’ गठन गर्नुपर्ने माग गरिएको छ।

अध्यक्ष पाण्डेका अनुसार यस्तो बोर्डले विभिन्न मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरी नीतिगत तथा प्रक्रियागत समस्याहरू एकीकृत रूपमा समाधान गर्न मद्दत गर्नेछ।

अध्यक्ष पाण्डेले अमेरिका र चीनजस्ता देशहरूले एआई र बिग डेटा क्षेत्रमा अर्बौँ डलर लगानी गरिरहेका बेला नेपालले पनि यसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स