SHAREHUBSHAREHUB

अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १७ गते
AdvertisementAds
अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
AdvertisementAds

अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ (भिसा बन्ड) व्यवस्थालाई अब स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ, जुन नेपाली रुपैयाँमा करिब ३० लाख रुपैयाँसम्म हुन सक्छ।

अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै यस व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो।

नयाँ नियमअनुसार यसअघि रहेको ५ हजार अमेरिकी डलरको विकल्प हटाइएको छ। अब धरौटी रकमका रूपमा १० हजार र २० हजार अमेरिकी डलरका दुई विकल्प मात्र कायम रहनेछन्। परीक्षण कार्यक्रम सञ्चालनका क्रममा भने कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी निर्धारण गर्ने व्यवस्था थियो।

यो धरौटी रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ। यदि भिसा आवेदन अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा समावेश छन्। साथै अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ।

AdvertisementAds

अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ। अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था स्थायी बनाइएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स