यु-१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले सोमबार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा वेस्ट इन्डिजसँग पहिलो अभ्यास खेल खेलेको थियो। वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.१ ओभरमा १०० रनमा अलआउट हुँदै ९ रनले पराजित भयो।
सो खेलमा नेपालका लागि सीमाना केसीले २३ रन, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ रन, तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए। वेस्ट इन्डिजका बलरहरूमध्ये अमिया गिल्बर्ट, आलिया विक्स, र त्रिशा हर्डाटले समान दुई विकेट लिँदा केनिका क्यासरले एक विकेट लिएकी थिइन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनाएको थियो।
नेपालले आज अमेरिकाविरुद्ध दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ।


प्रतिकृया