नेत्रहिन विश्व कपमा नेपाल पहिलो पटक सेमिफाइनलमा पुग्यो
नेपाल पाकिस्तानमा जारी नेत्रहिन टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। ६ देश सहभागी यस विश्वकपको लिगमा चौथो स्थानमा रहँदै नेपालले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल २०१२ देखि विश्वकपमा सहभागी हुँदै आएको छ।
नेपालले आइतवार घरेलु टोली पाकिस्तानसँग सेमिफाइनल खेल्नेछ। पाकिस्तान लिग चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो। लिग चरणमा पाकिस्तानले नेपाललाई १० विकेटले पराजित गरेको थियो।
लिग चरणमा नेपालले श्रीलंका, बंगलादेश र पाकिस्तानसँग हार स्वीकार्यो, जबकि दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेर नेपालले महत्वपूर्ण जित प्राप्त गरेको थियो। यी दुई देश लिग चरणबाट बाहिरिएका छन्।
अर्को सेमिफाइनल बंगलादेश र श्रीलंकाबीच हुनेछ। लिग चरणमा पहिलो र चौथो स्थान, तथा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल खेलिनेछ। फाइनल मङ्गलबार हुनेछ।