चैत २१ गते नेप्सेमा सूचीकृत भएको नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार नखुली स्थगित भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर १०० रुपैयाँ ८० पैसा देखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो। सामान्यतः नयाँ कम्पनीको पहिलो मूल्य प्रि-ओपन सेसनमा खरिद–बिक्रीको आधारमा निर्धारण हुन्छ। तर, आज प्रि-ओपन सेसनमा कसैले पनि सेयर नबेचेपछि कम्पनीको कारोबार खुल्न नसकेको हो।
लगानीकर्ताहरूले यसअघि गार्डियनको सेयर मूल्यले दिएको अत्याधिक मुनाफा देखेर तत्काल सेयर नबेचेको अनुमान गरिएको छ। अहिले दोश्रो बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य २४८७.१० रुपैयाँमा कारोबार भइरहेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेप्सेमा सूचीकृत पहिलो माइक्रो इन्स्योरेन्स कम्पनी हो, जसले पहिलो दिनदेखि नै लगातार सकारात्मक सर्किट हान्दै आएको छ। माघ २४ गते (बिहीबार) सूचीकृत भएको उक्त कम्पनीको कुल ७५ लाख कित्ता सेयरमध्ये ५२ लाख ५० हजार कित्ता संस्थापक समूहको र २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको रहेका छन्। गार्डियनको लागि पनि नेप्सेले १०० रुपैयाँ ३४ पैसा देखि ३०१ रुपैयाँ २ पैसा सम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो।
माघ २७ गते पहिलो कारोबार खुल्ने दिनमै गार्डियनको सेयर मूल्य उच्चतम रेञ्ज अर्थात् ३०१ रुपैयाँमा खुलेर आधा घण्टा भित्रमै १० प्रतिशतले बढेर ३३१.१० रुपैयाँमा पुगेको थियो। नेप्सेमा सूचीकृत माइक्रो इन्स्योरेन्स क्षेत्रकै पहिलो कम्पनी, बजारमा किन्ने धेरै र बेच्ने थोरै भएपछि गार्डियनको सेयरले ब्याक टु ब्याक सर्किट हानेको थियो। गार्डियनको सेयरले छोटो समयमै दिएको अत्यधिक प्रतिफलका कारण लगानीकर्ताहरूले नेपाल माइक्रोको सेयर तत्काल नबेची होल्ड गरेको देखिन्छ। माइक्रो इन्स्योरेन्स सेक्टरप्रति लगानीकर्ताको आकर्षण बढ्दो देखिन्छ।
सेयरबजार ओरालो लागेको समयमा पनि आइपिओले लगानीकर्तालाइ धेरै प्रतिफल दिदै आएको छ, जसका कारण लगानीकर्ताहरू आइपीओप्रति झन् बढी आकर्षित भएका हुन्। यसअघि सुचिकृत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य २७०० सम्म पुगेको थियो।जसअनुसार लगानीकर्ताले एक हजार रुपैयाँको लगानीबाट लगभग २६ हजार रुपैयाँ सम्मको नाफा कमाएका छन्। यस्तो प्रतिफलले खासगरी साना लगानीकर्ताहरूलाई आकर्षित गरेको देखिन्छ । यसै कारण साना लगानीकर्ताहरूले आइपीओ नबेची होल्ड गरेका कारण नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार हुन् सकेन। अब कम्पनीको पहिलो कारोबार भने भोली अर्थात् चैत २६ गते मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ।











![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)




![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया