नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा भोलि, पुस १९ गते शनिवार, पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने योजना छ। साथै, सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक कार्य प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गरिनेछ।
साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै, संस्थापक सेयरधनीहरू (समूह क)को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू निर्वाचन गर्ने पनि सभा कार्यक्रममा समावेश छ। बोनस सेयर जारीपश्चात हुने सेयर संरचना अनुसार जारी र चुक्ता पूँजीलाई तदनुरूप वृद्धि गर्ने र बोनस सेयर वितरण गर्दा कायम हुने दशमलव अंक सम्बन्धित सेयरधनीको नाममा समायोजन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
सञ्चालक समितिले प्रस्ताव गरे अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उद्देश्य लगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने र नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त निर्देशनअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभा मार्फत पारित गरिनेछ। साधारण सभा तथा लाभांश वितरणको लागि कम्पनीले गत पुस ६ गते एक दिनका लागि सेयर दाखिल खारेज (बुक क्लोज) गरिसकेको छ, त्यसैले पुस ६ गतेसम्म सेयरधनी बनेका व्यक्तिहरू मात्र साधारणसभामा भाग लिन र पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया