एसीसी अन्डर-१९ एसिया कपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:१५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ। उक्त खेलमा सन्तोष यादवले चार विकेट लिए पनि श्रीलंकाले २३३ रन बनाएको थियो।
मयन यादवले ६० रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन। शक्ति गौचनको प्रशिक्षणमा रहेको नेपालले आज उत्कृष्ट ब्याटिङ गर्नुको विकल्प छैन। ओपनर आकाश त्रिपाठी र मयन यादवको प्रदर्शन निर्णायक हुनेछ भने अर्जुन कुमाल, सन्तोष यादव, र नरेन भट्टले पनि लामो समय क्रिजमा टिक्नुपर्नेछ।
साविक विजेता बंगलादेश भने उच्च आत्मविश्वासमा छ। आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको बंगलादेशका कप्तान अजिजुल हकिमले १०३ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए, जबकि कलाम सिद्धिकी पनि शानदार फर्ममा छन्। दुई अंकका साथ बंगलादेश समूह ‘बी’को दोस्रो स्थानमा रहेको छ भने नेपाल अंकविहीन रहँदै तालिकाको अन्तिम स्थानमा छ। नेपालका लागि यो खेल पुनरागमन गर्ने महत्वपूर्ण अवसर हो।





















प्रतिकृया