नेपाल र थाइल्याण्डबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा आज दुईवटा सरकारी तथा छवटा गैरसरकारी समझदारीपत्रमा हस्ताक्षर भएका छन्।
यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सहकार्य प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै, द्विपक्षीय व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।
नेपाल र थाइल्याण्ड सरकारबीच सांस्कृतिक तथा पर्यटन सहयोगसम्बन्धी दुई सम्झौताहरू सम्पन्न भएका छन्। साथै, गैरसरकारी तहमा पनि विभिन्न संस्थाहरूबीच सहकार्यका लागि समझदारीपत्रहरूमा हस्ताक्षर भएका छन्। नेपाल नेत्रज्योति संघ र महिडोल विश्वविद्यालय अन्तर्गतको रामाथिबोदि अस्पतालबीच आँखा उपचार सेवाको विकास र विस्तारका लागि समझदारी भएको छ। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच व्यापार व्यवसाय अभिवृद्धि सम्बन्धी समझदारी गरिएको छ।
यसैगरी, जनता एग्रो एण्ड फरेष्ट्री र कासेट्सार्ट विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालय, नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ तथा नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच आपसी सहकार्यका लागि समझदारीपत्रहरूमा हस्ताक्षर भएको छ।















प्रतिकृया