नेपाल राष्ट्र बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न अनुमति दिएको छ।
पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिने खोजेको थियो। उक्त सेयर नेशनल लाइफ इन्स्योरेन्सले खरिद गर्न सहमति गरेपछि, सो सम्झौतामा राष्ट्र बैंकले औपचारिक स्वीकृति प्रदान गरेको हो।
हिमालयन बैंकबाट पेश भएका कागजातहरुको जवाफदेहिता संस्था स्वयंमा निहित रहने गरी प्रचलित ऐन, कानुन तथा एकीकृत निर्देशनको अधीनमा रही कुनै संस्था वा निकायबाट रोक्का रहेको भएमा कानून बमोजिम रोक्का फुकुवा लगायतका प्रक्रियाहरु पुरा गरी खरिद / बिक्री हुनुपूर्व पुनः कालोसूचीमा रहे/नरहेको यकीन गरी नेशनल लाइफ इन्स्योरेन्सलाई बैंकको संस्थापक सेयरहरु खरिद/बिक्री गर्ने स्वीकृति प्रदान भएको राष्ट्र बैंकले जनाएको छ ।
हबिब बैंकले प्रतिकित्ता न्यूनतम ११२ रुपैयाँ ८० पैसामा सेयर बिक्री गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्तावका आधारमा हिमालयन बैंकले आफ्ना बहालवाला संस्थापक सेयरधनीलाई खरिदका लागि सूचना जारी गरेको थियो। त्यसमा नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्ने प्रस्ताव पेश गरेको थियो।
गत साउनको अन्तिम साता हबिब बैंक र नेशनल लाइफबीच औपचारिक सेयर खरिद–बिक्री सम्झौता भएको थियो। त्यसपश्चात् आवश्यक स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको प्रस्तावलाई राष्ट्र बैंकले २६ असोजमा स्वीकृति दिएको हो।
हबिब बैंकको हिमालयन बैंकमा १२.९३ प्रतिशत सेयर स्वामित्व छ। बैंकको चुक्ता पुँजी हाल २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया