नेपालको अग्रणी स्टक ब्रोकर कम्पनी नासा सेक्युरिटिजले लगानीकर्ताहरूका लागि २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ्ग सुविधा सार्वजनिक गरेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ लागू गरेपश्चात् कम्पनीले मिति २०८२ फागुन ४ गतेदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। यस सुविधाअन्तर्गत अब लगानीकर्ताले सेयर खरिद गर्न ब्रोकरबाटै सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन्।
बजारका विभिन्न आकर्षक अवसरहरूको सदुपयोग गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना निकै लचिलो र ग्राहक-मैत्री बनाइएको कम्पनीले जनाएको छ। मार्जिन ट्रेडिङ्ग योजनाअन्तर्गत लगानीकर्ताले कुल कारोबार रकमको ३० प्रतिशत मात्र प्रारम्भिक मार्जिन राखेर बाँकी ७० प्रतिशत रकम ब्रोकरबाट ऋण सुविधाका रूपमा प्राप्त गर्न सक्नेछन्।
कम्पनीले १० लाख रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्मका विभिन्न योजनाहरू उपलब्ध गराएको छ, जसको समयावधि १ महिना, २ महिना र ३ महिनासम्मको हुनेछ। कर्जाको अवधिअनुसार सेवा शुल्क र ब्याजदर निर्धारण गरिएको छ।

१० लाख रुपैयाँको योजनाअन्तर्गत ७ लाख ऋण लिँदा १ महिनाको लागि सेवा शुल्क र ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्नेछ। सोही रकम २ महिनाका लागि लिएमा २.५ प्रतिशत छुटसहित १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा ५ प्रतिशत छुटसहित १९ हजार ९५० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। त्यसैगरी, २५ लाख, ५० लाख, १ करोड र २ करोडसम्मका योजनाहरूमा पनि रकम र समयअनुसार सेवा शुल्क तोकिएको छ।

सेवा लिन के गर्नुपर्छ?
मार्जिन ट्रेडिङ सुविधा लिन इच्छुक ग्राहकले नासा सेक्युरिटिजमै आफ्नो छुट्टै ‘मार्जिन डिम्याट खाता’ र ‘मार्जिन ट्रेडिङ्ग खाता’ खोल्नुपर्नेछ।यसका लागि ग्राहकहरूले कम्पनीको नजिकैको शाखा कार्यालयमा उपस्थित भई आफ्नो केवाईसी (KYC) फारम अद्यावधिक गर्नुका साथै आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ।
आवेदन स्वीकृत भएपछि धितोपत्र बोर्डले तोकेका योग्य कम्पनीहरूको सूचीमा रहेका सेयरहरूमा मात्र यो कारोबार गर्न सकिनेछ।
छिटो, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न प्रतिबद्ध नासा सेक्युरिटिजले यस सुविधाबारे थप जानकारी लिन चाहने ग्राहकलाई कार्यालयमा उपस्थित हुन वा फोन नम्बर ०१-५९७००८४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिकृया