बजारमा नक्कली तथा गुणस्तरहीन उत्पादनको कारोबार बढ्दै उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाही अघि बढाएको छ। मन्त्रालयले जनस्वास्थ्यसँग खेलवाड गर्ने र नक्कली उत्पादन बिक्री गर्नेहरूप्रति शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।
यसैक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मसला, तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोग गर्न मिल्ने वा नमिल्ने विषयमा प्रयोगशालामा परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित उत्पादन तथा दोषी प्रमाणित हुने कम्पनी, वितरक र बिक्रेताविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।
विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर नक्कली उत्पादनको बिक्रीवितरण नियन्त्रण गर्न बजार अनुगमनलाई थप तीव्र बनाइएको बताए।
उनका अनुसार बजारमा अझै पनि केही गिरोहले लुकीछिपी नक्कली सामान बिक्री गरिरहेको गोप्य सूचना विभागलाई प्राप्त भइरहेको छ। त्यसैले जनस्वास्थ्यमा खेलवाड गर्ने र नक्कली उत्पादन बिक्री गरेर नाफा कमाउन खोज्ने जो–कोहीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने मन्त्रालयको भनाइ छ।
अनुगमनकारी निकायको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै विभागले उपभोक्तालाई सामान खरिद गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कुनै पनि उत्पादन शंकास्पद लागेमा वा नक्कली भएको आशंका भएमा तत्काल विभाग वा सम्बन्धित निकायमा जानकारी तथा उजुरी दिन पनि अपिल गरिएको छ।
प्रतिकृया