बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले आज (चैत २२ गते) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल सिङ्गल ब्याजदरमा वा बहुब्याजदरमा गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। ५६ दिने यो उपकरणको आउँदो जेठ १७ गते मूलधन र ब्याज भुक्तानी गरिने जानकारी राष्ट्र बैंकले दिएको छ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य भइरहेका छन्।




















प्रतिकृया