बिहीबार समग्र बजार हरियाली देखिएको छ। नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ मा बन्द भएको छ। आज ११ अर्ब ३९ करोड रुपैयाँको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री-इन्स्योरेन्सको भएको छ। बजारमा ३०० कम्पनीका २ करोड ६१ लाख कित्ता सेयर किनबेच भएका छन्।
बिहीबार १३ उपसमूहहरू सबैमा हरियाली रहँदा बैंकिङ उपसमूह सबैभन्दा धेरै ३.३२ प्रतिशतले बढेर १,४३१.३४ मा पुगेको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गका कर्जामा बैंकहरूले छुट्याउनुपर्ने ‘लोनलस प्रोभिजन’ दर १.१० बाट १ प्रतिशतमा झारेपछि बैंकिङ क्षेत्रमा सकारात्मक असर परेको हो। बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनका लागि कम प्रावधान छुट्याउनुपर्ने भएकाले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अपेक्षा गरिएको छ। यही कारण बिहीबार बैंकिङ क्षेत्रमा उल्लेखनीय वृद्धि देखिएको हो।
बैंकिङ क्षेत्रको वृद्धिसँगै अन्य उपसमूहहरू पनि उल्लेखनीय रूपमा बढेका छन्। उत्पादन तथा प्रशोधन २.९१ प्रतिशतले बढेर ७४६४.७१ पुगेको छ। त्यसैगरी, हाइड्रोपावर १.८० प्रतिशत, लगानी १.२५ प्रतिशत, विकास बैंक १.५३ प्रतिशत, ट्रेडिङ्ग १.२० प्रतिशत, होटल तथा पर्यटन १.१२ प्रतिशत, अन्य १.०१ प्रतिशत,माइक्रोफाइनान्स ०.९१ प्रतिशत, निर्जीवन बीमा ०.७० प्रतिशत, जीवन बीमा ०.८१ प्रतिशत, फाइनान्स ०.२८ प्रतिशतले बढेको छ। बजार सकारात्मक लयमा गएसंगै लगानीकर्ताहरूमा उत्साह देखिएको छ। विशेष गरी बैंकिङ क्षेत्रको मजबुत वृद्धिले सेयरबजारलाई गति दिएको विश्लेषकहरूको भनाइ छ।


प्रतिकृया