सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलनमा, तीन दिनभित्र माग पूरा नगरे आयोजना बन्द गर्ने चेतावनी

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलनमा, तीन दिनभित्र माग पूरा नगरे आयोजना बन्द गर्ने चेतावनी

अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर उपलब्ध गराउनुपर्ने मागसहित स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।कम्पनीले सेयर निष्काशनको तयारी गरिरहेका बेला प्रभावित स्थानीयले प्रत्यक्ष लाभ लिन नपाउने अवस्था सिर्जना भएको आरोप लगाउँदै मकरीगाड सेयर वितरण सङ्घर्ष समिति गठन गरी हाइड्रोपावर कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीयलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग उल्लेख गरिएको छ ।ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल तथा तटबन्ध निर्माण गर्नुपर्ने, आवश्यक पूर्वाधार विकास गर्नुपर्ने, पानीका मुहान सुक्ने स्थानमा खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने र विस्थापित परम्परागत पानी घट्टको सट्टा नयाँ घट्ट निर्माण गर्नुपर्ने माग पनि समेटिएको छ ।

त्यसैगरी प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण, आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन समेत कम्पनीसँग माग गरिएको छ ।सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेखित मागहरू तीन दिनभित्र सम्बोधन नगरिए मकरीगाड हाइड्रोपावर बन्द गर्न बाध्य हुने चेतावनी दिइएको छ ।यसैबीच, सङ्घर्ष समितिले अपिहिमाल गाउँपालिकालाई पनि सेयर वितरण र आयोजनासम्बन्धी विषयमा आवश्यक समन्वय गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले पाउने सेवा–सुविधा सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स