स्वदेशी उत्पादन विस्तारमा उद्योग क्षेत्रको नेतृत्व आवश्यक, निजी लगानी सुरक्षित हुने सरकारको प्रतिबद्धता: अर्थमन्त्री वाग्ले

स्वदेशी उत्पादन विस्तारमा उद्योग क्षेत्रको नेतृत्व आवश्यक, निजी लगानी सुरक्षित हुने सरकारको प्रतिबद्धता: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमा आधारित बनाउँदै आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने अभियानको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा उद्यमीसँग आयोजित छलफल कार्यक्रममा उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट नेपालले लामो समयदेखि गुमाउँदै आएको औद्योगिक अवसर पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। निजी क्षेत्रको लगानी सुरक्षित रहने, उचित प्रतिफल प्राप्त हुने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको स्पष्ट गर्दै उद्यमीको नाफा र सम्पत्तिको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रम तीव्र गतिमा कार्यान्वयन भइरहेका छन्। आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा लागू गरिने उल्लेख गर्दै उनले पुँजीगत खर्च बढाउने, आयोजना कार्यान्वयनलाई गति दिने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार गर्ने र लगानीको वातावरण सुदृढ बनाउने काम समानान्तर रूपमा अघि बढिरहेको जानकारी दिए।

उनले भने, ‘बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध रूपमा कार्यान्वयन गरिनेछ । पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार सुधार, वित्तीय क्षेत्र सुधार र लगानी वातावरण सुदृढ गर्ने काम पनि समानान्तर रूपमा अगाडि बढिरहेका छन् । सरकार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ । त्यसैले आजको बैठकलाई नियमित छलफलका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको नयाँ चरण प्रारम्भ गर्ने साझा कार्यशालाका रूपमा अगाडि बढाऔँ ।’

त्यसपछि उनले थप भने, ‘आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व अब उद्योग क्षेत्रले गर्नुपर्दछ । लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई अब हामी सँगै पुनर्स्थापित गरौँ । सरकारको प्रतिबद्धता स्पष्ट छ । निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएका लगानीका अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै लगानी विस्तार, उत्पादन वृद्धि, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरूलाई आग्रह गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स