उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जुटेका छन्। यसअघि भएका छलफलहरू निष्कर्षविहीन भएपछि रोकिएको संवाद अहिले फेरि अघि बढेको हो।
कुलमाननजिक एक नेताका अनुसार पछिल्ला वार्तामा ठोस सहमति जुट्न नसके पनि वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरूबीच सहकार्य अपरिहार्य ठहर गर्दै घिसिङ पुनः छलफलका लागि रास्वपासँग जोडिएका हुन्।
यसअघि घिसिङले सार्वजनिक रूपमै वैकल्पिक राजनीतिक शक्तिहरू सकेसम्म एक ठाउँमा आउनुपर्ने धारणा राख्दै आएका थिए। पूर्ण एकता सम्भव नभए पनि कार्यगत एकता गरेर अघि बढ्नुपर्ने उनको तर्क थियो। “आज नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेका छन्। त्यसलाई बुझेर जिम्मेवार ढंगले अघि बढ्नुपर्छ,” घिसिङको भनाइ थियो।
यसअघि शनिबार रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको छलफलको प्रारम्भिक चरणमा घिसिङ पनि सहभागी भएको बताइए पनि शक्ति बाँडफाँडमा सहमति नजुटेपछि उनी बैठकस्थलबाट बाहिरिएका थिए। त्यसपछि रास्वपा सभापति रवि लामिछाने र बालेनबीच मात्रै संवाद अघि बढेको थियो।
ती दुई नेताबीच रातभर चलेको छलफलपछि आइतबार ४ बजे सात बुँदे सहमति भएको थियो। सहमति अनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापतिको जिम्मेवारी रवि लामिछानेले सम्हाल्ने तथा आगामी निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहने समझदारी भएको सार्वजनिक गरिएको थियो।



















प्रतिकृया