कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो।
कम्पनीले ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त सेयरका लागि दोलखा जिल्ला अन्तर्गत बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी, ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावरको कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सिङ्गटी शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

















प्रतिकृया