झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि सेयरको प्रारम्भिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको हो। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ खुल्नेछ।
आयोजना प्रभावितका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ। आवेदन गर्दा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ।
स्थानीयहरूका लागि आवेदन अवधि साउन १४ देखि २८ गतेसम्म रहनेछ, आवश्यक परे भदौ १२ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा गएकाहरूले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्, आवेदन कम परे साउन २८ गतेसम्म समय थपिनेछ।
आवेदन फाराम स्थानीय शाखा कार्यालयहरू तथा आयोजना क्षेत्रमै उपलब्ध हुनेछ भने वैदेशिक रोजगारीमा रहेका व्यक्तिले मेरो सेयर एप वा सी–आस्बा सेवामार्फत आवेदन दिन सक्नेछन्। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ। पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुल्नेछ।



















प्रतिकृया