नेपाललाई जापानको थप ५७ करोड येन अनुदान सहयोग, धुलिखेल ट्रमा सेन्टर सुधारमा खर्चिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ४ गते
नेपाललाई जापानको थप ५७ करोड येन अनुदान सहयोग, धुलिखेल ट्रमा सेन्टर सुधारमा खर्चिने

धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनाका लागि जापान सरकारले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिबीच हस्ताक्षर भएको हो।

यसअघि सन् २०२३ मा जापान सरकारले उक्त परियोजनाका लागि तीन अर्ब दुई सय ९६ करोड येन बराबरको अनुदान सहयोग उपलब्ध गराइसकेको थियो। तर, हालै मूल्यवृद्धि र अन्य आर्थिक कारणले अतिरिक्त बजेट आवश्यक परेपछि जापान सरकारले थप अनुदान उपलब्ध गराएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले जापानलाई नेपालको “स्वार्थरहित र घनिष्ठ मित्रराष्ट्र”को रूपमा उल्लेख गरे। उनले भने, “नेपालको विकासमा जापानले निरन्तर र महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। आगामी दिनहरूमा यो सहयोग अझ फराकिलो हुनेछ भन्ने विश्वाससहित सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।”

सगरमाथा संवादको अवसरमा नेपाल भ्रमणमा रहेका जापानी उपविदेशमन्त्री इकुइना अकिकोप्रति आभार व्यक्त गर्दै उपप्रधानमन्त्री पौडेलले उनलाई लुम्बिनी  गौतमबुद्धको जन्मस्थल भ्रमणका लागि निमन्त्रणा समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स