नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री साहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुका साथै प्रधानमन्त्रीले आम नागरिकसमक्ष माफी माग्नुपर्ने बताए । उनले मुलुककोे प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए । सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो ? भन्दै अध्यक्षमार्फत प्रश्न गरे ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो । नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ । अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन । हरेक नेपालीको रगतमा देशक्तिपूर्ण भावना जीवन्त छ । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंदले संसदमा क्षमा माग्नुपर्छ । प्रधानमन्त्रीज्यूको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ । तपाईले देशमाथि ठट्टा गर्नुभयो । हाम्रा पुर्खाले रगत बगाएर बनेको देश हो यो । राष्ट्र र राष्ट्रियतामाथि देशको प्रधानमन्त्रीले धावा बोल्न पाइँदैन ।’
मुलुकको निर्माण पुर्खाको बलिदान र संघर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए ।
–न्युज एजेन्सी नेपाल

प्रतिकृया