नेपालको सेयर बजारमा लगानीकर्ताको चासो बढ्दो रहेको अवस्थामा आईपीओ पनि आकर्षणको केन्द्र बनेको छ। विशेषगरी अघिल्लो आर्थिक वर्ष २०७९/८० मा देखिएको आईपीओ उत्साहले बजारमा नयाँ ऊर्जा भर्यो। सो वर्ष नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ४२ कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको थियो । सो वर्ष ४२ कम्पनीहरुले १३ करोड ५२ लाख कित्ता सेयर जारी गरेर २२ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी संकलन गरेका थिए।
धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० सालमा २९ हाइड्रोपावर, ४ इन्स्योरेन्स, ३ माइक्रोफाइनान्स, २ वटा अन्य १ होटल, १ उत्पादन र १ इन्भेष्टमेन्ट सेक्टरका कम्पनीहरुलाई आइपिओ निष्काशनको अनुमति दिएको थियो। यस्तो उत्साहजनक अवस्थापछि लगानीकर्ताहरूले यो वर्ष पनि यस्तै लगानीको अवसरको अपेक्षा गरेका थिए। तर, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने उक्त अपेक्षाले निराशामा रूप लियो। गत आर्थिक वर्ष २०८०/८१ मा भने सेबोनले ९ कम्पनीलाई मात्र आईपीओ निष्काशनको अनुमति दिएको थियो पछि विवाद भएर रिलायन्स स्पिनिङ मिल्सको अनुमति प्रक्रिया नै रद्द गरिएको थियो।
किन घट्यो आईपीओको अनुमति ?
नेपाल धितोपत्र बोर्ड (सेबोन) गत वर्षदेखि करिब एक वर्षसम्म नेतृत्वविहीन अवस्थामै थियो। २०८० पुष पछि धितोपत्र बोर्ड लगभग १ वर्ष नै नेतृत्व विहिन अवस्थामा रह्यो जसकारण आइपिओ अनुमति प्रक्रिया अघि बढ्न सकेन। तर, २०८१ मंसिर १० गते सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षको रूपमा नियुक्त गरेपछि सेबोनले आफ्नो कार्यलाई तीव्र बनाएको जस्तो देखायो। तर श्रेष्ठ नेतृत्वमा आएपछि सेबोनले पाँच महिनाको अवधिमा जम्मा ७ वटा कम्पनीलाई आइपीओको अनुमति दिएको छ।
कुन कुन कम्पनिले पाए अनुमति ?
गत आर्थिक वर्ष २०८०/८१ मा
गत आर्थिक वर्ष २०८०/८१ मा धितोपत्र बोर्डबाट सबैभन्दा पहिला सोनापुर मिनिरल्सले आईपीओ निष्काशनको अनुमति पाएको थियो। कम्पनीले २०८० साउन १७ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। कम्पनीले प्रिमियम मूल्यमा प्रति कित्ता २३७.५८ रुपैयाँ (अर्थात् अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर) १ करोड २३ लाख २०० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। त्यसपछि भिजन लुम्बिनी ऊर्जा लिमिटेडले २०८० भदौ ५ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३८ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले २०८० असोज १० गते १०० रुपैयाँ दरमा १४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो। त्यसैगरी, नेपाल वायर हाउजिङ कम्पनीले १३ लाख ७५ हजार कित्ता सेयर १०० रुपैयाँ दरमा निष्काशन गर्ने अनुमति पाएको थियो। हिमालयन री इन्स्योरेन्स कम्पनीले भने प्रिमियम मूल्यमा आईपीओ ल्याउने कम्पनीहरूमध्ये एक हो। कम्पनीले २०८० कात्तिक १ गते सेबोनबाट अनुमति प्राप्त गर्दै प्रति कित्ता २०६ रुपैयाँ (१०० + १०६ प्रिमियम) दरमा ३ करोड कित्ता सेयर निष्काशन गरेको थियो।
यसपछि, सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट २०८० मंसिर ३ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो। कम्पनीले प्रति कित्ता ३६० रुपैयाँमा ३६ लाख कित्ता सेयर जारी गरेको थियो। यता, रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिबाट २०८१ असार १२ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो तर उक्त कम्पनीको मुद्दा दायर भएको कारण कम्पनीको आइपिओ निष्कासनको अनुमति रद्द गरिएको हो।
चालु आर्थिक वर्ष २०८१/८२ मा
चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ७ कम्पनीले आइपिओ निष्काशनको अनुमति पाएका छन्। जसमा माइक्रो इन्स्योरेन्सको बाहुल्यता छ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भने सेबोनले नयाँ नेतृत्व पाउनु केही दिन अघि मात्रै २०८१ साल मंसिर ०७ गते आइपिओ निष्काशनको अनुमति पाएको थियो। कम्पनीले १०० रुपयाँको दरले २२ लाख २५ हजार कित्ता आइपिओ जारी गरेको हो।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सले पनि १०० रुपियाँको दरले २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले पुष २५ गते अनुमति पाएको थियो। बोर्डले माघ ०३ गते भने दुई कम्पनी: क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले २२ लाख ५० हजार र ओम मेघाश्रीले १८ लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको थियो।
त्यसपछि फाल्गुन महिनामा पियोर इनर्जीले १६ लाख कित्ता आइपिओ जारी गर्ने अनुमति पायो र अन्तिममा चैत २५ गते सान्भी इनर्जीले ३६ लाख ९० हजार कित्ता र ट्रेड टावरले ३९ लाख ७१ हजार ६९३ कित्ता आइपिओ निष्काशनको अनुमति पाएको थियो।
यद्यपि, २०७९/८० को तुलनामा पछिल्ला दुई आर्थिक वर्षमा आईपीओ स्वीकृतिको गतिमा स्पष्ट रूपमा कमी आएको देखिन्छ। चालु आर्थिक वर्ष २०८१/८२ साल अझै तीन महिना बाँकी रहेकोले बाँकी समयभित्र केही नयाँ आईपीओहरू आउने आशा जीवितै छ। हालसम्म ८३ वटा कम्पनीहरूले करिब ५० अर्ब ६७ करोड रुपैयाँ बराबरको ३८ करोड ३४ लाख कित्ता आईपीओ ल्याउने तयारीमा धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।
आईपीओको पाइपलाइनका ७३ कम्पनीहरु
हाल आइपिओ निष्काशनको अनुमति कुरिरहेका कम्पनीहरुमा ७ होटल एण्ड पर्यटन क्षेत्रका कम्पनी, ४३ हाइड्रोपावर, ३ इन्भस्टमेन्ट, १६ माइक्रो फाइनान्स, ३ माइक्रो इन्स्योरेन्स र १० अन्य क्षेत्रका रहेका छन्।



















प्रतिकृया